दफा
सवारी, इन्धन र सवारी मर्मत सुविधा

(१) न्यायाधीशलाई सवारीको लागि ड्राइभर सहितकोे मोटर एक र अनुसूची–१ मा उल्लेख भए बमोजिमको इन्धन र मोबिल उपलब्ध   गराइनेछ ।

(२) उपदफा (१) बमोजिम उपलब्ध गराइएको मोटर प्रयोग नगरी आफ्नो निजी मोटर प्रयोग गर्ने न्यायाधीशलाई ड्राइभरको निमित्त नेपाल सरकारको हलुका सवारी चालकको तलबमानको शुरु अङ्क बराबरको रकम र उपदफा (१) बमोजिमको इन्धन र मोबिल उपलब्ध गराइनेछ ।

(३) उपदफा (१) बमोजिम उपलब्ध गराइएको सरकारी मोटरको नियमित मर्मत र सम्भारको बन्दोबस्त सम्बन्धित अदालतले गर्नेछ ।

(४) उपदफा (१) र (२) बमोजिम प्राप्त हुने इन्धन र चालकको पारिश्रमिकको बिल भरपाई पेश गर्नु पर्ने छैन ।

(५) उपदफा (१) बमोजिम न्यायाधीशलाई उपलब्ध गराइएको सरकारी मोटर खरिद भएको मितिले बाह्र वर्षसम्म त्यस्तो न्यायाधीश सरुवा वा नियुक्ति भई अन्य अदालतमा जाँदा समेत प्रयोग गर्नु पर्नेछ ।

(६) यस दफा बमोजिमको सुविधा न्यायाधीशलाई निजको कार्यकाल समाप्त भएको मितिले सात दिनसम्म दिइनेछ ।

(७) उपदफा (५) बमोजिम न्यायाधीशले प्रयोग गरिरहेको सवारी साधन त्यस्तो न्यायाधीश अवकाश हुँदा आफैँले खरिद गरी लैजान चाहेमा सो सवारी साधनको किताबी मूल्य लिई निजलाई हस्तान्तरण गरिनेछ ।

(८) उपदफा (७) बमोजिम सवारी साधनको किताबी मूल्य कायम गर्दा त्यस्तो सवारी साधनको खरिद मूल्यको दश प्रतिशतभन्दा कम नहुने गरी गर्नु पर्नेछ ।

(९) उपदफा (७) बमोजिम आफूले प्रयोग गरिरहेको सवारी साधन अवकाश हुँदा खरिद गरी लिन चाहने न्यायाधीशले अवकाश हुने मितिभन्दा कम्तीमा छ महिना अगावै त्यसको लिखित जानकारी सम्बन्धित अदालत मार्फत सर्वाेच्च अदालतलाई गराउनु पर्नेछ ।

तर यो ऐन प्रारम्भ हुँदाका बखत कार्यरत न्यायाधीशको अवकाश हुन छ महिनाभन्दा कम अवधि भएकोमा अवकाश हुनुभन्दा अगावै त्यस्तो जानकारी गराउन बाधा पर्ने छैन ।